बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिविमा क्रिकेट रङ्गशाला निर्माणका लागी गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने

शुक्रबार, असोज ३१ २०८२

काठमाडौं  । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा सो गुरुयोजना अनुमोदन गर्दै रङ्गशाला निर्माण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको हो। गुरुयोजना अनुसार रङ्गशाला निर्माणमा करिब १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार, कीर्तिपुरमा बन्ने यो रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान हुनेछ। उनले यसले अन्तर्राष्ट्रिय खेलकुद, खेल पर्यटन र राष्ट्रिय छविको प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

मन्त्री घिसिङले भने, “रङ्गशालाको विकास र आधुनिकीकरण नेपालका लागि रणनीतिक रूपमा अत्यावश्यक छ। अन्तर्राष्ट्रिय खेल खेलाउन सक्षम सुविधा सम्पन्न रङ्गशाला आवश्यक भएकाले गुरुयोजना बमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाइने निर्णय गरिएको हो।”

सरकारले रङ्गशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा अघि बढाउँदै, जग्गा सम्बन्धी सम्झौता र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अन्तिम रूप दिने निर्णय पनि गरेको छ। त्यसअनुसार, दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्न मन्त्रिपरिषद्ले अनुमति दिएको हो।

केही दिनअघि रङ्गशालाको पहिलो चरणको निर्माणको स्थलगत निरीक्षण गरेका मन्त्री घिसिङले गुरुयोजनाअनुसार कार्य तीव्र गतिमा भइरहेको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए।