काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिमा हालसम्म करिव दुई अर्ब एक करोड ९८ लाख रुपैंयाँ बीमितहरूलाई भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी उक्त परिमाणमा रकम भुक्तानी दिईएको जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन हजार एक सय ६६ वटा बीमा दाबीको करिव २३ अर्ब २० करोड ९१ लाख दाबी रकम रहेको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् । निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव दुई अर्ब एक करोड ९८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको प्राधिकरणको भनाई छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि दुई हजार सात सय ९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा छ सय ५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको छ ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल दुई हजार सात सय ३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी पुनर्बीमा कम्पनीले दिएको छ । पुनर्बीमा कम्पनीले हालसम्ममा करिव एक अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीह्रूलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्याङ्क उपलब्ध गराएको प्राधिरणको भनाई छ ।