काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु गरेको छ। शुक्रबार आयोजित एक समारोहबीच बैंकका सञ्चालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गर्दै भवन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका हुन्।
करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने उक्त भवनमा दुई तला भूमिगत पार्किङ, एक ग्राउन्ड फ्लोर र नौ वटा माथिल्ला तला रहनेछन्। आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार तथा अत्याधुनिक प्रविधिको प्रयोग गरी भवनलाई काठमाडौं उपत्यकाकै नमुना व्यावसायिक संरचनाका रूपमा विकास गर्ने बैंकको लक्ष्य छ।
भूमिपूजा समारोहमा बोल्दै बैंकका अध्यक्ष ढकालले निर्माणाधीन भवन वाणिज्य बैंकहरूको कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचनामध्ये एक हुने बताए। उनले नयाँ भवनले बैंकको संस्थागत पहिचानलाई थप उचाइमा पुर्याउनुका साथै ग्राहकलाई सहज, प्रविधिमैत्री र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्राहक तथा कर्मचारीको सुविधालाई प्राथमिकतामा राखेर भवनको डिजाइन तथा निर्माण अघि बढाइएको बताए। उनका अनुसार भवनमा आधुनिक पार्किङ व्यवस्था, ऊर्जा बचत गर्ने प्रविधि, आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा प्रणाली जडान गरिनेछ।
वातावरणमैत्री संरचना निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै रेग्मीले प्राकृतिक स्रोतको उचित उपयोग, ऊर्जा दक्षता र वातावरणीय सन्तुलन कायम गर्न भवनले महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन तहका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंक आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। यसका अतिरिक्त युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयरलगायतका प्रतिष्ठित सम्मानसमेत प्राप्त गरिसकेको छ।
बैंकले मुलुकका ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा पहिचान बनाएको छ। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
यसैगरी, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै बैंकले नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको छ।
उत्तरढोकामा निर्माण हुन लागेको नयाँ कर्पोरेट भवनले बैंकको संस्थागत क्षमता, सेवा प्रवाह र आधुनिक बैंकिङ पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
