काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
महाशाखाले आइतबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाएको छ। आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसममा हुने परिवर्तनसँगै हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।