बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘कार्डियाक किड्स’ नेपाल फेरि चम्कियो : कतारमाथि नाटकीय जित, विश्वकप नजिक

आज ओमानसँग खेल्दै

बुधबार, असोज २९ २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा ‘कार्डियाक किड्स’ (नाटकीय जित निकाल्ने टिम) उपनाम पाएको नेपालले फेरि रोमाञ्चक जित हासिल गरेको छ।

सोमबार राति ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले आइसिसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय छनोटको सुपर–६ अन्तर्गत कतारलाई पाँच रनले हराउँदै लगातार चौथो जित दर्ता गरेको हो।

यो जितसँगै नेपाल टी–२० विश्वकपको अत्यन्त नजिक पुगेको छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमा १४२ रनमै अलआउट भएको थियो। कुनै समय जितको नजिक पुगेको कतारलाई नेपाली बलरहरूले अन्त्यमा दबाबमा पारी समेट्न बाध्य बनाए।

नेपालका बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट हात पारे। टी–२० अन्तर्राष्ट्रियमा यो उनको दोस्रो पटकको पाँच विकेट हो। नन्दन यादवले २ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

कतारका लागि इमाल लियानागेले ३५ बलमा ५६ रन (३ छक्का, ५ चौका) बनाउँदै अर्धशतक प्रहार गरे। उनले ओपनर जुबेर अलीसँग ७९ रनको साझेदारी गरे, अलीले पनि ५२ रनको योगदान दिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकसहित १४७ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो। तेस्रो नम्बरमा आएका रोहितले ४१ बलमा ५८ रन (१ छक्का, ७ चौका) बनाए। यो उनको टी–२० अन्तर्राष्ट्रियमा आठौँ अर्धशतक हो र सोसँगै उनले १,६०० रनको व्यक्तिगत कीर्तिमान पनि पूरा गरे।

नेपालले सुरुवाती ओभरमै दुवै ओपनर गुमाएको थियो — कुशल भुर्तेल ६ र आसिफ शेख ११ रनमा आउट भए। त्यसपछि कप्तान रोहित र दीपेन्द्रसिंह ऐरीबीचको साझेदारीले टोलीलाई स्थिरता दिलायो। दीपेन्द्रले २२ बलमा २६ रन बनाए। अन्त्यतिर गुलसन झाले ८ बलमा १६ रन (२ छक्का) जोड्दा नेपाल सम्मानजनक स्कोरमा पुगेको थियो।

कतारका बलर ड्यानियल लुइस र मिर्जा बेगले तीन–तीन विकेट लिए।

यो जितसँगै नेपाल सुपर–६ मा अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले आज (बुधबार) ओमानसँग तेस्रो खेल खेल्दैछ। नेपालले ओमानलाई हराएमा अन्तिम खेलअघि नै टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ।

यदि आजको खेलमा पराजय भए पनि नेपालले शुक्रबार सामोआलाई हराएमा विश्वकप टिकट पक्का गर्न सक्छ। सुपर–६ अन्तर्गत नेपाल, युएई, ओमान, जापान, कतार र सामोआमध्ये शीर्ष तीन टिमले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्नेछन्।