काठमाडौं । सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।
१४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन र जुबेर अलीले ५२ रन बनाए पनि अन्य ब्याटरहरूबाट उल्लेख्य प्रदर्शन नहुँदा टोली पराजित भयो ।
नेपालका लागि सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिए । नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे । खेलको निर्णायक चरणमा दीपेन्द्र र मोहम्मद आदिल आलमले गरेका रनआउटले पनि नेपालको जितमा टेवा पुगेको थियो ।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो ।
रोहितले ४१ बलमा ५८ रन प्रहार गरे भने दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन जोडे । गुल्शन झाले अन्तिम क्षणमा ८ बलमा १६ रनको छोटो तर प्रभावशाली पारी खेले ।
कतारका कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३–३ विकेट लिए भने मुहम्मद असिमले १ विकेट हात पारे ।
यसअघि सुपर सिक्समा नेपालले आइतबार यूएईलाई पराजित गरेको थियो ।