बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

झापामा जेनजी आन्दोलनमा लुटिएको राइफल म्यागजिनसहित बेवारिसे अवस्थामा फेला

आइतबार, असोज २६ २०८२

झापा  । झापाको दमकमा एउटा राइफल बेवारिसे अवस्थामा फेला परेको छ। दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरको पूर्वपट्टिको गेट नजिक राखिएको उक्त राइफलको जानकारी आज बिहान स्थानीयले इलाका प्रहरी कार्यालय दमकलाई दिएका थिए।

सूचना पाए लगत्तै प्रहरी निरीक्षक नवीन राई नेतृत्वको टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार फेला परेको राइफल कानुनी प्रक्रिया पूरा गरी इप्रका दमकमा सुरक्षित राखिएको छ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते उक्त राइफल लुटिएको थियो। भेटिएको राइफल म्यागजिनसहित रहेको छ।

यसअघि भदौ २४ मा इप्रका दमकबाट लुटिएको एसएलआरको ५५ राउन्ड गोली दुई दिनअघि कमल गाउँपालिका–७ रंगपुरमा फेला परेको थियो। स्थानीय गंगाप्रसाद पाण्डेले बारीमा केराको पात काट्दा सेतो बोरामा अनौठो वस्तु देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले सो वस्तु एसएलआरको गोली भएको पुष्टि गरेको थियो।

जेनजी आन्दोलनका क्रममा झापाबाट २४ थान साना ठूला हतियार, ५,६९० वटा गोली र १८० सेल अश्रुग्यास लुटिएको थियो। भेटिएको राइफल र ५५ राउन्ड गोलीमध्ये अरु हतियार अझै फेला परेको छैन। प्रहरीले असोज मसान्तसम्ममा लुटिएका हतियार बुझाउन समय तोकेको छ।