कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटी हत्या गरिएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार, बुढाको हत्या गरेको आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार दुबै जना बुढाको घाँटी रेटी टाउको बोकेर प्रहरी कार्यालयतर्फ आउँदै गर्दा प्रतिखेत प्रहरी पोस्ट नजिकै नियन्त्रणमा लिइएका हुन् ।
डीएसपी अवस्थीले मृतकको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको र शरीर घटनास्थलमै रहेको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए ।
घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।