काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोट खेलमा जापानमाथि नेपालले पाँच विकेटको जित निकालेको छ । जितका लागि १३२ रनको लक्ष्य पच्छ्याएको नेपालले १८ ओभर खेल्दै लक्ष्य भेट्टायो ।
शुक्रबार राति समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकप एसिया-इस्ट-प्यासिफिक छनोटको समूह ‘बी’ विजेता बन्दै सुपर-६ चरणमा प्रवेश गरेको छ।
जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका ओपनर आसिफ शेखले ३८ रन जोडे। त्यस्तै कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रन खेल्दै अविजित रहे।
जापानका बलर शोमा स्लेटरले २ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो। कप्तान केन्डेल काडोवाकी–फ्लेमिङले ४६ बलमा ६० रन र इसम रहमानले २५ बलमा ३१ रनको योगदान दिए।
नेपालका बलिङतर्फ गुल्सन झा र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने सोमपाल कामी र अर्का गुल्सन झाले समान एक विकेट लिएका थिए।
जापानलाई पराजितसँगै नेपालले २ अंक जोड्दै समूह ‘बी’ विजेता बनेको हो। अब नेपालले सुपर–६ मा समूह ‘ए’ र ‘सी’ का शीर्ष दुई टोलीसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष तीन स्थानमा रहन सके नेपालले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा सहभागिता सुनिश्चित गर्नेछ।