बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको पहिलो चरणको काम अन्तिम चरणमा

शुक्रबार, असोज २४ २०८२

काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सोमबार मैदानको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले स्तरोन्नतिको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मन्त्री घिसिङका अनुसार मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ भने छवटा फ्लडलाइट जडान एक महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको छ । “पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । फ्लडलाइट राख्ने काम सकिएको छ,” उनले भने, “नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुनुअघि पहिलो चरण पूरा भई मैदान झण्डै १२ हजार दर्शक अटाउने क्षमतामा तयार हुनेछ ।”

मन्त्री घिसिङले दोस्रो चरणको काम सम्पन्न भएपछि मैदानमा करिब ३० हजार दर्शक बस्न सक्ने क्षमता हुने जानकारी दिए । उनले थपे “यो देशको प्रमुख क्रिकेट मैदान हो, दोस्रो र तेस्रो चरणको काम अगाडि बढाउने डिजाइन तयार भइसकेको छ ।”

उनले परियोजनाको बजेट सुनिश्चितताका विषयमा सरकार गम्भीर रहेको बताउँदै खेल क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “राष्ट्रिय महत्वका खेलका लागि पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ,” मन्त्री घिसिङले भने, “मैदानको स्तरोन्नति सबैको सरोकारको विषय हो, निर्माण कम्पनीले समयमै काम सम्पन्न गरी छिटो हस्तान्तरण गर्नुपर्छ ।”

मन्त्री घिसिङले ठेकेदार र सम्बन्धित निकायलाई कार्य तीव्र बनाउन आग्रह गर्दै त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउन दुई चरणमा काम भइरहेको जानकारी दिए ।