बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले हरायो

मंगलबार, असोज २१ २०८२

काठमाडौँ । आगामी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार दोस्रो अभ्यास खेलमा कतारलाई १६ रनले पराजित गरेको छ।

ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा सम्पन्न खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो। यसअघि पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको योगफल बनायो। नेपालका कुशल भुर्तेलले ३३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५६ रन, दीपेन्द्रसिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्कासहित ३८ रन, र कुशल मल्लले २९ बलमा एक चौका र दुई छक्कासहित अविजित ३८ रनको योगदान दिए।

त्यसैगरी आरिफ शेखले १३, आसिफ शेखले ११ र कप्तान रोहित पौडेलले ८ रन बनाए।

कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले समान २–२ विकेट लिएका थिए।

जवाफमा लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनमा सीमित रह्यो।
कतारका मोहम्मद तनबिरले ३७ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन, मिर्जा मोहम्मद बेगले २७ बलमा चार छक्कासहित ४० रन, र मोहम्मद असिमले ३० रनको योगदान दिए।

नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान १–१ विकेट लिएका थिए।