काठमाडौं । युनिटी कप टी–२०आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ । तर, तीन खेलको सिरिजमा २–१ को जीत हासिल गर्दै नेपालले उपाधि भने आफ्नो पक्षमा पारेको छ ।
गए राति शारजाह क्रिकेट मैदानमा भएको निर्णायक खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १२२ रनमै समेटियो ।
१ सय २३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १२ दशमलव २ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्दै सान्त्वना जित निकालेको हो । वेस्ट इन्डिजका ओपनर अमिर जाङ्गुले ४५ बलमा अविजित ७४ रन बनाए भने अर्का ओपनर अकिम अगस्टे ४१ रनमा अविजित रहे ।
यसअघि सिरिजका पहिलो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो खेलमा १९ रन र दोस्रो खेलमा ९० रनले जित हात पारेको थियो । अन्तिम खेलमा पराजित भए पनि नेपालले ऐतिहासिक रुपमा सिरिज आफ्नो पक्षमा पार्न सफल भएको छ ।