काठमाडौँ । नेपालले युनिटी कप अन्तरगतको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको छ ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्यो । नेपालको जितसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक कुनै टेस्ट राष्ट्रविरुद्ध जित दर्ता भएको हो ।
टस हारेर पहिले ब्याटिङको अवसर पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रनको चुनौती प्रस्तुत गरेको थियो । कप्तान रोहित पौडेलले ३५ बलमा तीन चौका र एक छक्कासहित ३८ रन बनाए भने कुशल मल्लले २१ बलमा ३० रन जोडे । गुलशन झाले २२ रन योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे । वेस्ट इन्डिजका जेसन होल्डरले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएका थिए ।
१४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा नौ विकेट गुमाउँदै १२९ रनमै सीमित भयो । उसका लागि नवीन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९–१९ रन जोडे । नेपालका कुशल भुर्तेलले दुई विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिँदै वेस्ट इन्डिजलाई दबाबमा राखे ।
नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग टी–२० सिरिज खेलिरहेको हो । तीन खेलको यो सिरिजलाई आगामी सातादेखि ओमानमा सुरु हुने आइसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट को तयारीका रूपमा लिइएको छ । नेपाल र वेस्ट इन्डिजबीच दोस्रो खेल यही असोज १३ गते हुनेछ ।