काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो पाँचौँ खेल मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेबाट सुरु हुनेछ।
नेपालले हालसम्म खेलेका चार खेलमध्ये तीनमा हार बेहोरेको छ भने एक खेलमा मात्र जित हात पारेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। तर चौथो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको थियो।
११ टिम सहभागी सिरिजको अंक तालिकामा नेपाल हाल नवौँ स्थानमा छ। आजको खेल जित्न सके नेपालको शीर्ष स्थानमा पुग्ने सम्भावना जीवित रहनेछ। मेलबर्न रेनेगेड्सले भने अहिलेसम्म तीन खेल खेल्दै दुई जित र एक हारका साथ चार अंक जोडेको छ र तालिकाको पाँचौँ स्थानमा छ।
नेपालले सिरिजको अन्तिम खेल शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ।