शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

युइएफए सुपर कपको उपाधि पीएसजीलाई

बिहिबार, साउन २९ २०८२

काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले युइएफए सुपर कपको उपाधि नाटकीय ढंगले आफ्नो पक्षमा पारेको छ।

इटालीको उडिनेस्थित स्टाडियो फ्रिउलीमा बुधबार सम्पन्न खेलमा पीएसजीले टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै यो वर्षको पाँचौं ट्रफी जित्यो।

च्याम्पियन्स लिग र युरोपा लिगका विजेता क्लबबीचको वार्षिक प्रतिस्पर्धामा टोटनह्याम ८५औं मिनेटसम्म २–० ले अगाडि थियो। तर, अन्तिम क्षणमा पीएसजीले प्रभावशाली कमब्याक गर्दै खेललाई रोमाञ्चक मोड दियो।

८६औं मिनेटमा ली काङ–इनले पहिलो गोल गर्दै फर्कने संकेत गरे। त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै स्कोर २–२ बनाए।

पेनाल्टी सुटआउटमा प्रारम्भमै भिटिन्हाले मौका गुमाउँदा टोटनह्यामले २–० को अग्रता लियो। तर, मिकी भान डे भेन र माथिस टेलको असफल प्रयासपछि पीएसजीले लगातार चार पेनाल्टी सफल पार्‍यो। अन्तिम निर्णायक पेनाल्टी नुनो मेन्डेसले गोल गर्दै पीएसजीलाई जित दिलाए।