काठमाडाै । नेपाल क्रिकेट संघ (CAN) का सचिव पारस खड्का ले सिंगापुरमा सम्पन्न आईसीसी वार्षिक साधारणसभामा नेपालको प्रस्तुतिले चर्चा पाएको छ ।
सिंगापुरमा आयोजिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सभामा उनले करिब १० मिनेटको प्रेजेन्टेसनमार्फत आफ्ना महत्वपूर्ण कुरा राखेका थिए । १०८ राष्ट्र सहभागी बैठकमा नेपाली क्रिकेटबारे पारसले कुरा राखेका थिए ।
ICC को उक्त बैठकमा केही चुनिएका सदस्य राष्ट्रहरूलाई मात्र प्रस्तुति दिने अवसर दिइएको थियो, जसमा नेपाल पनि एक हो। नेपालसहित ४ वटा देशका क्रिकेट बोर्ड प्रतिनिधिले मात्रै यस्तो प्रिजेन्टेसन दिने अवसर पाएका थिए ।
पारस खड्काको नेतृत्वमा भएको प्रस्तुतिले नेपाल क्रिकेटको दृढ संकल्प, क्षमता र आगामी सम्भावनाहरू स्पष्ट रूपमा व्यक्त भएको सहभागिहरूले बताएका छन्।
उनलाई आईसीसीले नै नेपाली क्रिकेट र विशेषतः एनपीएलका सम्बन्धमा प्रिजेन्टेसनका लागि आग्रह गरेको थियो ।
पारसले नेपाली क्रिकेटले विगत दुई दशकमा डिभिजन ५ देखि एक दिवसीय मान्यतासम्म आइपुग्न निकै कठिन संघर्ष गरेको र अबको लक्ष्य टेस्ट राष्ट्र बन्ने रहेको उद्घोषसमेत गरे ।
प्रस्तुतीका क्रममा पारसले नेपाली क्रिकेटको यात्रा डिभिजन ५ देखि एक दिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यतासम्म आइपुग्न अत्यन्तै चुनौतीपूर्ण र प्रेरणादायी रहेको उल्लेख गरे। उनले भने, “यो केवल मैदानमा जित्ने संघर्ष मात्र थिएन, संरचनागत अभाव, स्रोत साधनको कमी, र आन्तरिक व्यवस्थापनको कठिनाइबीच हामी यहाँसम्म आइपुगेका छौं।”
खड्काले थपे, “अब हाम्रो नयाँ यात्रा सुरु भएको छ – नेपाललाई टेस्ट राष्ट्र बनाउने।”
उनले टेस्ट राष्ट्र बन्ने लक्ष्य प्राप्तिका लागि आवश्यक पूर्वाधार निर्माण, घरेलु लिगको मजबूती, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रशिक्षण र खेलकुद कूटनीतिको सशक्त प्रयोगका उपायहरू प्रस्तुत गरे। नेपाल प्रिमियर लिग (NPL) को सफल आयोजन, युवाहरूमा बढ्दो लगाव र अन्तर्राष्ट्रिय चर्चित खेलाडीहरूको सहभागिता नेपालको उज्यालो सम्भावना रहेको प्रमाण भएको उनले बताए।
क्यानले यो सहभागिता नेपालको विश्व क्रिकेटमा सक्रिय उपस्थिति र आगामी योजनाको स्पष्ट प्रतिबद्धता भएको बताएको छ।