एएफसी एसियन कप छनोट खेलेर फर्कियो नेपाली राष्ट्रिय टोली
काठमाडौं। एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ ।
२६ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको टोली शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुन पुगेको थियो।
खेललाई पेनाल्टीसम्म लगे पनि दुईवटा सट गोलमा परिणत नहुँदा नेपालले पीडा बोकेर फर्किन बाध्य बनेको छ ।
त्रिभुवन विमानस्थलमा ओर्लिएपछि नेपाली स्ट्राइकर (कप्तान) सावित्री भण्डारी ‘साम्बा’ले चाहेअनुसारको नतिजा नआउँदा दु:ख लागेको बताइन् । सञ्चारकर्मीलाई जवाफ दिने क्रममा निराश मुद्रामा देखिएकी उनले उज्वेकिस्तानविरुद्धको खेलको नतिजाले आफूहरूलाई खेलाडीका रुपमा भविष्यसम्म पिरोलिरहने बताइन् ।
‘सुरुवातमा अलिकित मौसमसँग अभ्यस्त हुन गाह्रो भयो । बिस्तारै सुधार ल्यायौं । कोचले सिकाए अनुसार फलो गर्दै खेल्यौं । थ्री जिरो डाउन हुँदा पनि कमब्याक गर्यौं । तर पेनाल्टीमा चुक्न पुग्यौं ।’ उनले भनिन् ।
उज्वेकिस्तानविरुद्धको खेलकाे सुरुवातामा सम्हालिएर खेल्न नसक्दा नै परिणाम आफूहरुको पक्षमा नआएको धारणा व्यक्त गरिन् ।
‘मलाई लाग्छ, सुरुको १० मिनेट सम्हालिन सकेनौं । त्यसपछि बाहिरबाट कोचिङ स्टाफले जुन म्यासेज रिले गर्नुभयो, त्यसले गर्दा हाम्रो रणनति र इनर्जी बुस्ट भएको थियो । हामीले कमब्याक गर्न सफल भयौं । ओभरअल हामीभन्दा माथिल्लो टिमसँग खेलेर धेरै कुराहरु सिक्यौं । फाइट गर्नु ठूलो कुरा हो ।’ उनले बताइन् ।
आफूलाई कप्तानीको जिम्मेवारी दिइएकोप्रति उनले खुशी व्यक्त गरिन् ।
नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो।