आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रामकुमारीलाई कारबाही गर्न एकीकृत समाजवादीका नेताहरुको जोडबल

शुक्रबार, असार २० २०८२

काठमाडौं । अध्यक्ष माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिका कारण यतिबेला नेकपा एसकी नेतृ रामकुमारी झाँक्री चर्चामा छिन् ।

झाँक्रीको अभिव्यक्तिलाई लिएर नेकपा (एकीकृत समाजवादी) मा यतिबेला हलचल मच्चिएको छ । पतञ्जली योग पीठ जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा चलाएपछि पार्टीसम्वद्ध युवा संगठनको कार्यक्रममा झाँक्रीले बोलेको विषयमा विवाद भएको हो ।

झाँक्रीको उक्त अभिव्यक्तिलाई लिएर पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।

एसका अधिकांश नेताहरुले झाँक्रीले बोल्नै नहुने कुरा बोलेको भन्दै पार्टीबाटै निकाल्नुपर्ने नेतृत्वलाई दबाब दिएको स्रोतले बतायो ।

पार्टीनिकट युवाको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकी थिइन् ।

यद्यपि, झाँक्रीले भने आफूलाई स्पष्टीकरण नसोधिएको बताउँदै आएकी छन् ।  पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्न माग गर्दै पुगेकी झाँक्रीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भनिन्, ‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियातिर सोध्नुभएको रहेछ । मलाई स्पष्टीकरण सोधिएको छैन ।’

पार्टीले अर्को सचिवालय बैठक साउन २२ गते बस्ने तय गरेको छ । झाँक्रीको स्पष्टिकरणपछि मात्रै थप निर्णय गरिने नेताहरूले बताएका छन्।