शुभम खनालले लिए ५ विकेट
काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा जापानले नेपाललाई ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेटमैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको जापानले ३४. ३ ओभर खेल्दैमा आफ्नो सबै विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि शुभम खनालले १० ओभर बलिङ गर्दै १५ रन खर्चिएर ५ विकेट हात पारे । अभय यादवले दुई विकेट हात पारे । उनले ६ ओभरमा २५ रन खर्चिएर दुई विकेट लिए । सुशीलबहादुर रावल र विपिनप्रसाद शर्माले पनि एक–एक विकेट हात पारे ।
केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्ने छ ।
नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए ।
नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै यता जापानले भने भुटानलाई पराजित गरेको थियो । एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ ।
जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।