काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रतिष्ठित ‘हल अफ फेम’मा समावेश गरेको छ। आईसीसीले सोमबार यसको औपचारिक घोषणा गरेको हो।
यो सम्मानसँगै धोनी आईसीसी हल अफ फेममा पर्ने ११ औँ भारतीय खेलाडी बनेका छन्।
आईसीसीले भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीसहित अष्ट्रेलियाका म्याथ्यू हेडेन, दक्षिण अफ्रिकाका हाशिम अमला दक्षिण अफ्रिकाकै ग्रीम स्मिथ र न्यूजील्याण्डका डेनियल भेटोरीलाई ‘हल अफ फेम’ मा समावेश गरेर सम्मान गरेको छ ।
त्यस्तै, महिला क्रिकेटरमा पाकिस्तानकी साना मिर र इङ्गल्याण्डकी सारा टेलरलाई हल अफ फेम’ सम्मानको सूचीमा समावेश गरिएको छ ।
आईसीसीले सन् २००९ को जनवरीमा क्रिकेटमा खेलाडीहरूले गरेको योगदानलाई सम्मान गर्न हल अफ फेमको सुरूआत गरेको थियो । सुरूमा ५५ खेलाडीलाई सम्मान गर्दै यो सुची जारी गरिएको थियो ।
त्यसपछि हरेक वर्ष आईसीसी अवार्ड घोषणा गर्दा हल अफ फेममा समावेश हुने खेलाडीको सूची जारी गर्दै आएको छ ।