बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ट्रम्पले मस्कसँग सम्बन्ध सुधार्न नगर्ने, दिए यस्ताे चेतावनी

आइतबार, जेष्ठ २५ २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला र स्पेसएक्सका मालिक इलन मस्कसँगको सम्बन्ध सुधार गर्न इच्छा नरहेको बताएका छन्।

शनिबार अमेरिकी मिडिया एनबिसीसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले मस्कसँग सम्बन्ध सुधार गर्ने रूचि नरहेको बताएका हुन्।

आफ्नो प्रमुख घरेलु नीतिमाथि मस्कले सार्वजनिक रूपमा आलोचना गरेपछि चिसिएको सम्बन्धबारे सोधिएको प्रश्नमा ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

एनबीसी न्युजले ‘के तपाइँहरूको घनिष्ठ सम्बन्ध अब सकिएको हो ?’ भनेर सोध्दा ट्रम्पले भने, ‘म त्यस्तै अनुमान गर्छु, हो।’ बिग्रेको सम्बन्ध सुधार्न चाहनुहुन्छ कि भन्ने प्रश्नमा उनले ‘चाहन्नँ’ भनी जवाफ दिए।

कुनै समय ट्रम्पको चुनावी अभियानमा लाखौं डलर सहयोग गरेका र ह्वाइट हाउसका सल्लाहकारसमेत बनेका मस्कले राष्ट्रपतिको प्रमुख कर तथा खर्च विधेयकको सार्वजनिक आलोचना गरे। त्यसपछि सामाजिक सञ्जालमा यी दुईबीचको विवाद उत्कर्षमा पुगेको थियो।

राष्ट्रपति ट्रम्पसँग झगडा परेपछि मस्कले डेमोक्र्याटिक पार्टीलाई चन्दा दिन लागेको भनेर अमेरिकी मिडियाहरूले लेखेका थिए। मस्क आफैले पनि अमेरिकामा अब ८० प्रतिशतभन्दा बढी मध्यमवर्गीय मानिसहरूको नयाँ पार्टी खोल्नुपर्ने बताएका थिए।

ट्रम्पले डेमोक्र्याटहरूलाई चन्दा दिए मस्कले गम्भीर परिणाम ब्यहोर्नुपर्ने चेतावनी पनि दिएका छन्।