बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आरिफको शानदार ब्याटिङ

बिहिबार, जेष्ठ २२ २०८२

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध बुधबार भएको खेलमा ५ विकेटको रोमाञ्चक जित हात पार्दै लगातार दोस्रो जित दर्ता गरेको छ। यो जितसँगै नेपालले लिग तालिकामा १४ खेलबाट १० अंक हासिल गर्दै सातौं स्थानमा उक्लिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनायो। नोआ क्रोजले ५५ बलमा ४८ रन, कप्तान स्कट एडवर्ड्सले ७१ बलमा ४६ रन, विक्रमजित सिंहले ३८ रन र ज्याक लायन्सले २७ रनको योगदान दिए।

नेपालका सोमपाल कामीले ३ विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले २–२ विकेट लिए।

जवाफी ब्याटिङमा नेपालले ४८.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३२ रनको साझेदारी खेले । आसिफ १९ र कुशल २५ रन बनाएर आउट भए ।

त्यसैगरि भीम सार्की र रोहित पौडेलले क्रमशः ११ र २३ रन जोडे । रोहित रनआउट भएका थिए । मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले सम्हालिएको प्रर्दशन गरे । सुरुवाति धेरै बल खाएका आरिफले पछिल्ला बलमा राम्रा तथा उत्कृष्ट सट हान्दै ७८ रनको उत्कृष्ट इनिङ खेले । उनले २ छक्का र ७ चाैका प्रहार गरेका थिए ।   आरिफ र दीपेन्द्रसिंह ऐरीबीच भएकाे ८९ रनकाे साझेदारी नै नेपालका लागि निर्णायक बन्याे ।

यो जितसँगै नेपालले १४ खेलबाट १० अंक जोडेको छ। नेदरल्यान्ड्स भने २१ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा कायम छ।

नेपालले आगामी खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। लगातार जितको लयलाई कायम राख्दै नेपालले लिग तालिकामा अझ उक्लने लक्ष्य लिएको छ।