काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज स्कटल्याण्डसँग खेल्दैछ ।
लिग–२ को नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसँग पहिलो खेल खेल्न लागेको हो । उक्त खेल आज दिउँसो पौनै ४ बजेबाट सुरु हुनेछ ।
नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज आजदेखि सुरु हुन लागेको हो। सात महिलापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग २ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ। राम्रो नतिजा निकाल्दै अंकतालिकाको पुछारबाट उक्लिने अवसर पनि नेपाललाई हुनेछ ।
यसअघि भएका आठ एक दिवसीय खेलमा नेपालले चार जित र स्कटल्यान्डले तीन जित निकालेको छ। एक खेल भने रद्द भएको थियो। सोमबारदेखि लिग २ खेल्नुअघि नेपालले स्कटल्यान्डको ‘ए’ टिमसँग दुई वटा अभ्यास खेल खेल्ने मौका पाएको थियो।
लिग २ को शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल अहिले लिग २ मा १२ खेलबाट ६ अङ्क जोड्दै तालिकाको अन्तिममा छ। १६ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ।
नेपाले यस सिरिजको पहिलो खेल सोमबार स्कटल्यान्ड, बुधबार नेदरल्यान्ड्स, आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसपछि तीन टोलीबिच टी २० सिरिज हुने छ।
नेपाली टोली
नेपाल क्रिकेट सङ्घ (क्यान) रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्। नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन्।