काठमाडौं । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।
विदेशमन्त्री मार्को रुबियोले मंगलबार यस सम्बन्धमा आदेश जारी गरेको अलजजिराले जनाएको छ । समाचारअनुसार आदेशको उद्देश्य देशका विश्वविद्यालयहरूमा यहूदी विरोधी र वामपन्थी विचारहरू रोक्नु हो ।
अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीलाई भिसा नदिन भनेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले केही विश्वविद्यालयहरूलाई वामपन्थी र यहूदी विरोधी विचारहरूलाई बढावा दिएको आरोप लगाएका छन् । गत हप्ता, उनको सरकारले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
चिनियाँसँग साँठगाँठ गरेको र यहुदी विरोधी गतिविधि बढाउन भूमिका खेलेको आरोप लगाउँदै ह्वाइटहाउसले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो ।