बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मोदीकाे राष्ट्रका नाम सम्बोधन : आतङ्ककारी हमलालाई भारतले मुँहतोड जवाफ दिनेछ

मंगलबार, बैशाख ३० २०८२

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको घमण्ड भारतले पहिलो तीन दिनमै ध्वस्त पारिदिएको दाबी गरेका छन् ।

भारत र पाकिस्तानबीचको संघर्षविरामपछि साेमबार राष्ट्रका नाम सम्बोधन गर्दै मोदीले यस्तो दाबी गरेका हुन् ।

पहलगाम आतङ्कवादी हमलापछि सम्पूर्ण राष्ट्र एकजुट भएर आतङ्कवादविरुद्ध कडा कारबाहीको लागि उभिएको उनले बताएका छन् । आतङ्ककारीहरूलाई सखाप पार्न सरकारले भारतीय सेनालाइ पूर्ण स्वतन्त्रता दिएको पनि उनले स्मरण गरे ।

भारतको कारबाहीपछि पाकिस्तान दुनियाँभरमा तनाव कम गर्न गुहार माग्नतिर लागेको भन्दै प्रधानमन्त्री मोदीले रक्षात्मक स्थितिमा शनिबार भारतीय सेनाको डिजीएमओ (डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स) लाई पाकिस्तानले सम्पर्क गरेको समेत बताए ।

मोदीले भारतको सेनालाई आतङ्ककारीहरूको जरो उखेल्न पूर्ण स्वतन्त्रता दिएको उल्लेख गर्दै भने, ‘हामीले आतङ्ककारीलाई माटोमा मिलाउने निर्णय गरिसकेका छौँ।’

पहलगाममा निर्दोष नागरिकमाथि भएको आतङ्कवादी आक्रमणले देश र विश्वलाई झकझक्याएको स्मरण गर्दै उनले आतङ्कको यस्तो घिनलाग्दो रूपविरुद्ध कडा कारबाहीको चेतावनी दिए ।

पाकिस्तानमा रहेका बहावलपुर र मुरीदकेजस्ता आतङ्कवादी केन्द्रहरूलाई ध्वस्त पार्न भारतले मिसाइल र ड्रोन आक्रमण गरेको उल्लेख गर्दै मोदीले करिब सय जना बढी खूंखार आतङ्कवादीलाई नष्ट गरिएको दाबी पनि गरे ।

प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूरलाई भारतको आतङ्कविरुद्धको लडाइँमा नयाँ अध्यायको रूपमा चित्रण गर्दै भने, ‘आतङ्ककारी हमला भयो भने भारतले मुँहतोड जवाफ दिनेछ, कुनै पनि न्यूक्लियर ब्ल्याकमेल स्वीकार्ने छैन र आतङ्ककारी संरक्षक सरकार र आतङ्क नाइकेहरूलाई अलग-अलग हेरिनेछ छैन।’

अपरेशन सिन्दूरले युद्धको मैदानमा भारतको प्रभुत्व देखाएको र न्यू एज वारफेयरमा ‘मेड इन इन्डिया’ हतियारहरूको समय आएको उनको दाबी थियो। भारत र भारतीय नागरिकलाई जोगाउन देशले सतत निर्णायक कदम चालिरहने प्रतिबद्धता पनि प्रधानमन्त्री मोदीले जनाए ।

भारत प्रशासित जम्मु कश्मिरमा १० वैशाखमा आतंकवादी समूहले एक नेपालीसहित २६ जनाको विभत्स हत्या गरेको थियो । त्यसको दुई सातापछि आतंकवादविरुद्धको कारबाही भन्दै भारतले पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा हवाई आक्रमण गरेको थियो ।

‘अपरेसन सिंदूर’ को नाम दिएर भारतले गरेको उक्त आक्रमणमा सयभन्दा बढी आतंकवादीलाई मारिएको दाबी गर्दै आएको छ ।