बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

शुक्रबार, बैशाख ५ २०८२

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ दरखास्तबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरीया नगरपालिका–५ बस्ने ३१ वर्षीय विशाल गुप्ता र भारत उत्तर प्रदेश बराईज घर भएका ३२ वर्षीय अमित पटवाल रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.१२ प १७८७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका–१ पुरीटोल र भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४ ग्राम ५७ मिलिग्राम सहित रामधुनी नगरपालिका–५ झुम्का बस्ने २० वर्षीय करण चौधरी समेत ११ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–११ वानडाँडास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

पर्साको जिराभवानी गाउँपालिका–६ नौका चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८ सय ८६ ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–५ बस्ने २५ वर्षीय दिलिप प्रसाद राम र २२ वर्षीय राज बिद्या प्रसाद खाँ थारू रहेका छन् । इलाका प्रहरी कार्यालय सेढवा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले ना.१२ प २१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका–९ बस्ने २३ वर्षीय टेक बहादुर पुन र २३ वर्षीय अमित सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–७ बस्ने ३० वर्षीय अभिषेक शाह र कैलारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय श्याम बहादुर चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१–०१० प ८९४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।