काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुल्सीपुरले सुनाएको निर्णयमाथि पुनरावेदन गर्ने निर्णय गरेको हो ।
रास्वपाको केन्द्रीय सचिवालयको गत राति बसेको भर्चुअल बैठकले चार बँुदामा विभिन्न निर्णय गरेको छ ।
बैठकको पहिलो निर्णयमा भनिएको छ, ‘उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेज्यूले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने।’
यस्तै रास्वपाले पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा – त्यो पनि बेडरुमभित्र बसेर – जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर-संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने रास्वपाले निणर्य गरेको छ ।
उक्त बैठकले आज चितवनको भरतपुरमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्यरूपमा सफल पार्ने निर्णय पनि गरेको छ ।
साथै बैठकले पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने पनि निर्णय गरेको जनाएको छ ।