काठमाडौँ । मधेश र पश्चिम तराईमा गत आम निर्वाचनबाट उदाएका जनमत र नागरिक उन्मुक्ति पार्टी एकताका लागि गृहकार्यमा जुटेका छन् ।
दुवै दलका नेताले आगामी निर्वाचनमा तराई–मधेशमा पहिचानवादीको ‘निर्णायक’ शक्ति बन्ने लक्ष्यका साथ छिट्टै पार्टी एकता गर्ने जनाएका हुन् ।
तर यसबारेमा नागरिक उन्मुक्तिका संस्थापक अध्यक्ष रेशम चौधरी र उनकी पत्नी रञ्जिजा श्रेष्ठ नेतृत्वको नाउपामा आन्तरिक छलफल बाँकी छ ।
सीके राउत नेतृत्वमा बसेको जनमत केन्द्रीय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल बनाएको थियो ।
एकीकरणका लागि जनमत पार्टीका अध्यक्ष राउत र नाउपाका संरक्षक चौधरीबीच पटकपटक बैठक र छलफल भइसकेका छन्।
रेशम एकीकरणको पक्षमा छन् भने श्रेष्ठ सकारात्मक छैनन् । यी श्रीमान्-श्रीमतीका कारण पार्टीमा समस्या उत्पन्न भएको केही नेताहरूको आरोप छ ।