राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको ठहर
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको भन्दै आमनागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता प्रमाणित भएको पार्टीको निष्कर्ष रहेको उल्लेख छ ।
बैठकले पूर्वराजा ज्ञानेन्द्रको स्वागत कार्यक्रम सफल भएका भन्दै आम नागरिकप्रति कृतज्ञता प्रकट गरेको छ । राजाको स्वागतमा ठूलो संख्यामा विमानस्थल र सडकमा उपस्थित आम नागरिकलाई धन्यवाद ज्ञापन गर्दै राप्रपाले आम नागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको उल्लेख गरेको छ ।
यस्तै, पार्टीले सञ्चालन गर्ने आन्दोलनलगायत विविध विषयमा छलफल गर्न आगामी चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने
निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
बैठकले आमराजनीतिक दललाई निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन पनि आह्वान गरेको छ ।
