काठमाडौं । जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्र नारायण यादव (सप्तरी) लाई आर्थिक हिनामिना तथा ठगी गरेको आरोपमा स्पष्टीकरण सोधेको छ ।
यादवमाथि पार्टीको केन्द्रीय अनुशासन समितिकी सदस्य सचिव अनिता कुमारी मण्डलले यही फागुन २१ गते नै विभिन्न आरोप लागेको भन्दै ४ बुँदे स्पष्टीकरण सोधेकी थिईन् ।
यादवमाथि पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको बरु नियमित पार्टी जीवनको काम छोडेर अमेरिका, कतार र अन्य देशको सयर गर्ने गरेको आरोप लगार्ईको छ । यादवले पार्टीका महत्वपूर्ण बैठकमा समेत भाग लिन छोडेको पार्टीले जनाएको छ । सोधिएको स्पष्टीकरणको पहिलो बुँदामा नै यादव पार्टीको केन्द्रीय सचिवालय बैठकमा समेत लगातार महिनौंसम्म अनुपस्थित् भएको जनाईएको छ ।
हिसाब माग्दा पार्टीको हिसाब नदिने र हरेपटक हिसाब हेरफेर गर्ने गरेको पनि यादवमाथि पार्टीको गम्भीर आरोप थियो । उनीमाथि ०७९ को निर्वाचनमा नै पार्टीका अध्यक्ष डा. सिके राउतलाई हराउने उद्देश्यले भूमिका खेलेको गम्भीर आरोप छ ।
यस्तै पार्टीको विरोधमा सामाजिक सञ्जालमा पोष्ट गरेको, पार्टी फोड्न गुटबन्दी गरेको, सप्तरी १ र २ मा नेता कार्यकर्ता भड्काएर निष्क्रिय बनाएको, त्यहाँको उम्मेदवार डा. जयकान्त राउत, राष्ट्रिय अध्यक्ष डा. सीके राउत र बारा २ को उपनिर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई हराउने षड्यन्त्र गरेकोलगायतका आरोप पनि यादवमाथि लगाइएको छ ।
