मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

अध्यादेशबारे रास्वपा नेतृत्वले दोहोरो चरित्र देखाएको मुकुल ढकालको आरोप

'आफूले ल्याए वाह वाह !! अरूले त्यहि ल्याए विरोध !'

शुक्रबार, माघ १८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले सरकारले ल्याएको अध्यादेशलाई लिएर पार्टी नेतृत्वले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत हिजो त्यहीँ कुरा आफूले गर्दा ठीक हुने तर अहिले सरकारले गर्दा गलत कसरी हुन्छ भनेर उनले प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन्–’हामी आफैँ सरकारमा हुँदा कैयन अध्यादेशको योजना बुनिरहेका थियौँ । हामी आफैँले ल्याउन खोजेको थुप्रै अध्यादेशमध्ये केही अध्यादेश अहिलेको सरकारले ल्यायो । अब त्यसको विरोध गर्ने रे पार्टीले । त्यहि कुरा हामीले गर्दा राम्रो, अरूले गर्दा नराम्रो ? हामीले गर्दा लोकतान्त्रिक, अरूले गर्दा अलोकतान्त्रिक ?’ ।

उनले एक वर्षअघि देश बनाउने ब्लु प्रिन्ट तयारीका लागी पार्टीका प्रत्येक नेतालाई केही न केही काम केन्द्रीय समितिको बैठकबाटै निर्णय गरेर दिएको भए पनि नतिजा शून्य देखिएको उल्लेख गर्दै काम गर्दा, गर्न खोज्दा पार्टीभित्र घेराबन्दी र तिरस्कार सहनुपरेको गुनासो गरेका छन् ।

‘विरोध मात्र गरेर पार्टी अघि नबढाऔँ, सिर्जनात्मक बनौँ भनेर १ वर्ष अघि पार्टीका जिम्मेवार नेताहरू सबैलाई केहि न केहि काम दिइयो । कसैलाई व्यसाय गर्ने वातावरण सहज बनाउन के के गर्ने , त्यसको सूचि बनाउन । कसैलाई कानुन बनाउने कानुनमा नै खोट छ, अध्यादेशको सहारा लिनु पर्ने बाध्यता छ, कसरी कानुन बनाउने कानुन सुधार्ने, त्यसको सूचि बनाउन । अनेकन जिम्मेवारी प्राय सबैलाई दिइयो ।’ उनले लेखेका छन् ।

‘राजनीतिमा काम त गुट बनाउने रहेछ, हल्लिने, भेट्ने, गफ दिने काम रहेछ । म देश बनाउने, ऐन-कानुन-नियम-नीति के के गर्नपर्छ, त्यसमा घोटिन्थे । आफ्नाले जति गल्ती गरे पनि वाह वाह भन्न पर्ने रहेछ , अरूले जे गरे पनि विरोध गर्न पर्ने रहेछ ।’ उनले भनेका छन्, ‘आफूँले ल्याउने अध्यादेश वाह वाह, अरूले त्यहि ल्याए विरोध गर्न पर्ने रहेछ । देश बनाउने नीति र राजनीति फरक रहेछ । कठै, कसरी बन्छ देश यस्तो तरिकाले ।’