काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उनले बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताएका हुन्।
उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरू भएको उल्लेख गर्दै उक्त संस्थाहरूलाई सुदृढिकरण गर्दै थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेकोसमेत बताए।
उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए।
उनले पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनेरनफर्किने विषयमा कुनै छलफल र बहस नभएकोसमेत स्पष्ट पारे।
उनले अहिले बाहिर भइरहेका चर्चाहरू अनुमान मात्र भएको बताए।