शर्मा निकटको प्यानलका बहुमत पदाधिकारी निर्वाचित
काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी) को निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि गत माघ १३ गते भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बुधबार साँझ निर्वाचन समितिले निर्वाचित भएकाको मतपरिणाम वाचन गरेर सुनाइएको छ । अन्य मतपरिणाम भने आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक गरिने आयोगले जनाएको छ ।
अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको निर्वाचनमा पदाधिकारीमा अध्यक्ष बाहेक बहुमत पदाधिकारी उपमहासचिव जनार्दन शर्मा निकटका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्ष बाहेक ५ जना उपाध्यक्ष र महासचिव सहित २२ जना पदाधिकारी शर्मा निकटको प्यानलका उम्मेदवार निर्वाचित भएका हुन् । यद्यपि बहुमत पदाधिकारी निर्वाचित भए पनि शर्मा निकटका अध्यक्षका उम्मेदवार हेमन्त राई भने ७२ मतान्तरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक समर्थन रहेका विजयप्रकाश सापकोटासँग पराजित भएका छन् ।
एक अध्यक्ष, खुल्ला ४ र समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्षका लागि निर्वाचन भएको थियो ।
जस अनुसार अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । उनी ६ सय ८६ मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित सापकोटा उमेर हद लगाउने कि नलगाउने भन्नेमा भएको निर्वाचनमा उमेर हद लगाउन नहुने पक्षमा खुलेरै लागेका थिए ।
खुला तथा समावेशी सहित उपाध्यक्षमा ९ जना निर्वाचित भएकोमा जनार्दन निकट ४ जना निर्वाचित भएका छन् । जसमा छात्रातर्फ ममता अधिकारी, आदिवासी जनजातितर्फ सन्दीप पुन, मधेशीतर्फ अभिमन्यु यादव र खस आर्यतर्फ उमेश कँडेल निर्वाचित भएका छन् । यस्तै खुलातर्फ निर्वाचित मदन ढकाल पार्टी महासचिव देव गुरुङ निकट मानिन्छन् । खुलातर्फ निर्वाचित अटल आचार्य पनि पार्टी महासचिव गुरुङ निकट नै मानिन्छन् । तर उनी सहिद परिवारका सन्तति पनि हुन् । खुलातर्फ निर्वाचित बिराज थापा भने पार्टी सचिव राम कार्की नजिक मानिन्छन् । केहि समय उनी नारायणकाजी श्रेष्ठ नजिक रहेका तत्कालीन उपाध्यक्ष पवन कार्कीको टिमसँग नजिक थिए ।
त्यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भएका छन् भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन् ।
उपाध्यक्षहरूमा सन्दिप पुन (६५७), ममता अधिकारी (८८२), कृष्ण बहादुर सुनार (४४५), उमेश कँडेल (३८९), अटल आचार्य (५७१) र मदन ढकाल (५४१), विराज थापा (४८२), दीपा जैसी (४०८) र अभिमन्यू यादव (५७५) निर्वाचित भए ।
यस्तै दलिततर्फ निर्वाचित कृष्णबहादुर सुनारलाई हेडक्वार्टरको साथ रहेको थियो । खुलातर्फ दिपा जैसी भने कुनै नेताको गुटमा नपरेर स्वतन्त्र उम्मेदवारी दिएर पनि निर्वाचित भएकी छन् ।