मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

रास्वपाले सरकारले ल्याएको अध्यादेशविरुद्द अस्वीकारको प्रस्ताव दर्ता गर्ने

बुधबार, माघ १६ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेशविरुद्द अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालयमा आज बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

यस्तै बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर गरेर सांसद पद निलम्बन गर्ने काम गरेको भन्दै त्यसको समेत सदनमा विरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले पार्टी सभापति विरुद्धको राजनीतिक प्रतिशोधको विषय उठान गर्ने, सहकारीका मुद्दा, अर्थतन्त्रका विषय, असन्तुलित परराष्ट्र नीतिका विषयमा समेत सदनमा सशक्त रूपमा आवाज उठाउने निर्णय गरेको परियारले बताए । उनले सरकार गठनका समयमा भएको सात बुँदे समझदारीको समेत विरोध गर्ने निर्णय गरिएको सचेतक परियार जानकारी दिए।

बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएको विवादमा भएको झडपको भर्त्सना गर्दै पीडितहरूलाई न्याय दिन सरकारसँग माग गरेको छ ।