शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

भारतको कुम्भमेलामा भागदौड, कम्तिमा १५ जनाको मृत्यु

बुधबार, माघ १६ २०८१

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा केही मानिसको ज्यान गएको आशंका गरिएको छ । बीबीसीले कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको उल्लेख गरेको छ ।

आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको बताइएको छ ।

उक्त घटनामा मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने यकिन भएको छैन ।

यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ ।

अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताएका छन्।

उनले राति भएको घटनालाई दृष्टिगत गरी कार्यक्रम नगर्ने निर्णय गरिएको बताएका हुन्।

उनले भने, “मौनी अमावस्यामा स्नान गर्न सबै साधुसन्तहरू तयार अवस्थामा थिए तर उक्त घटनालाई ध्यानमा राख्दै जनहितका लागि स्नान नगर्ने निर्णय गरियो।”

मंगलबार राति प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गरेको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् ।