बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

फास्ट ट्र्याकमा अध्यादेश पारित गर्दै आवश्यक नियमावलीहरू बनाउने सरकारको निर्णय

बुधबार, माघ १६ २०८१

काठमाडौं । सरकारले पछिल्लोपटक ल्याएका अध्यादेशलाई संसद्बाट फास्ट ट्र्याकमा पारित गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हालै जारी भएका अध्यादेश फास्ट ट्र्याकमा पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

अध्यादेशहरू कार्यान्वयनका लागि फास्ट ट्र्याकबाट पारित गरेर आवश्यक नियमावलीहरू बनाउने निर्णय भएको जानकारी दिँदै गुरुङले भने, ‘हिउँदे अधिवेशन माघ १८ गते सुरु हुँदै छ । यो हिउँदे अधिवेशनबाट राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरूलाई संसद्मा फास्ट ट्र्याकबाट पास गर्ने काम हुन्छ । ती अध्यादेशहरू कार्यान्वयनका लागि नियमावलीहरू तदारुकताका साथ बनाउने निर्णय गरेका छौँ । अध्यादेश कार्यान्वयनमा जान्छ ।’

सरकारले सुशासन प्रवद्र्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको उहाँको जिकिर छ । विपक्षीले भने जस्तो संसद् छल्ने बदनियत सरकारको नभएको स्पष्टीकरण दिँदै प्रवक्ता गुरुङले भने, ‘सुशासन प्रवद्र्धन गर्नका लागि र अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्नका लागि अध्यादेश ल्याइएको हो । संसद्मा दर्ता भइसकेको छ । छलफलपछि पारित हुन्छ । सरकारले संवैधानिक अधिकारको प्रयोग गरेर नै अध्यादेश ल्याएको हो । अध्यादेश कसरी बदनियत हुन्छ ? यो प्रतिपक्षीको भाषा होला ।’ अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने काम तदारुकताका साथ अघि बढ्ने उनको दाबी छ ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदै छ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।

गत पुस २६ गतेको मन्त्रिपरिषद्को बैठकले ६ वटा अध्यादेश ल्याएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा अध्यादेश जारी गरिसेका छन् ।

राष्ट्रपति पौडेलले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिए ।