बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रास्वपा नेतृ ज्वाला संग्रौलाको एकपछि अर्को विवादित अभिव्यक्ति

बुधबार, माघ १६ २०८१

काठमाडौं । केही दिनअघि सामाजिक सञ्जालमार्फत ‘रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ अभिव्यक्ति दिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौला अर्को विवादित अभिव्यक्तिका कारण चर्चामा छिन् ।

लामिछाने गृहमन्त्री हुँदा नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कार मुद्दामा जोगाएको आरोप लगाएकी उनले मंगलबार आफ्नै पार्टीबारे अर्को अभिव्यक्तिका कारण चर्चामा रहेकी हुन् ।

उनले रास्वपाका नेता–कार्यकर्ताको विगत खोज्दै गए कुनै न कुनै काण्डमा मुछिएका पाइने जिकिर गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा आफूलाई रास्वपा बताउनेहरूको विगत खोज्दै गए कुनै न कुनै काण्डमा मुछिएका पाइने बताएकी हुन् ।

‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्,’ उनले लेखेकी छन्, ‘मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय ।’

केन्द्रीय सदस्य ज्वालाले पार्टीको चुनावी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका पूर्वनेता-कार्यकर्ताहरूले आफ्नो खेदो पनि आरोप लगाएकी छन्।

केन्द्रीय सदस्य संग्रौलाले आफूले केही दिनअघि दिएको अभिव्यक्तिको विषयमा पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधे जुनसुकै ठाउँमा उभिएर जवाफ दिन तयार रहेको पनि बताएकी छन् ।

‘मेरो अभिव्यक्तिको विषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर भए पनि जवाफ दिन तयार छु,’ उनले भनेकी छन् ।

एमाले नेता बस्नेतलाई शोभा पाठकले बलात्कार आरोप लगाइरहेकी छन् । बस्नेत रवि र बालेन्द्र साहविरुद्ध आक्रमक भइरहेका बेला शोभा भने दिनदिने लाइभमा आइरहेकी छन् । लाइभमा उनले बस्नेतले आफूमाथि बलात्कार गरेको बताइरहेकी छन् ।

सरकारले बस्नेतलाई जोगाएको भन्दै शोभा माइतीघरमण्डलमा धर्नासमेत बसिसकेकी छन् । तर बस्नेतविरुद्ध उनले दिएको जाहेरी दर्ता भएर अहिलेसम्म मुद्दा अघि बढेको छैन ।