मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

राप्रपा केन्द्रीय समिति बैठक : एकअर्कामाथि आरोप-प्रत्यारोप

आइतबार, माघ १३ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा नेताहरूबीच आरोप-प्रत्यारोप चलेको छ ।

महामन्त्री धवलशमशेर राणाले बैठकमा लिखित विचार राख्दै अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको विरोध गरेपछि नेताहरू आरोप(प्रत्यारोपमा उत्रिएका हुन् । राणाले संगठन कमजोर भएको भन्दै अध्यक्षलाई दोषारोपण गरे । तर, शनिबार बोल्ने केन्द्रीय सदस्यहरूले राणामाथि नै हमला गरेका छन् । राणाको दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भएको भन्दै उनको चर्को आलोचना गरेका हुन् ।

सहमहामन्त्री धनबहादुर बुढाले गणतन्त्रवादी पार्टीबाट आएका राणाले जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षलाई आरोप लगाउनु अनैतिक भएको टिप्पणी गरे । बुढाले एमालेबाट राप्रपामा आएका महामन्त्री जबराले लिङ्देनको निष्ठा र इमान्दारितामाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका थिए ।

पार्टीका नेताहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दजस्ता नेता गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमानदारीको प्रश्न गर्न नमिल्ने उनले तर्क गरे ।

पार्टीका अर्का सहमहामन्त्री प्रकाश रिमालले पार्टीको पक्षमा आकर्षण बढेका बेला नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुनः टुटफुटको शृंखलामा धेकेल्ने प्रयास भएको आरोप लगाए ।

पार्टीका केन्द्रीय सदस्य उद्धवराज भेटवालले नयाँ केन्द्रीय सदस्य बनाउने प्रक्रियालाई महामन्त्रीले दुष्कर्मको संज्ञा दिएको भन्दै त्यो शब्द फिर्ता लिएर माफी माग्न आग्रह गरे ।

यसअघि महामन्त्री राणाले पार्टी राजसंस्था र हिन्दू अधिराज्य सहितको लक्ष्य प्राप्ति उन्मुख नभएको भन्दै अध्यक्षको आलोचना गरेका थिए । इमानदार भएर लिङ्देन नेतृत्वको लेखाजोखा गर्नुपर्ने उनको भनाइ थियो । एकता महाधिवेशनको मर्म र भावनाअनुरूप पार्टीलाई एक ढिक्का राख्न अध्यक्ष लिङ्देनमा नयाँ सक्रियता र सत्प्रयासको अभाव देखिएको उनको सुझाव थियो ।

राप्रपा बैठकमा विदेशी पासपोर्ट भएकालाई केन्द्रीय सदस्य बनाइएको भन्दै नेतृत्वको आलोचना गरेका थिए । केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठसँग अमेरिकी पासपोर्ट भए पनि पार्टीको विधान र संवैधानिक व्यवस्थालाई खिल्ली उडाउँदै पार्टीले जिम्मेवारी दिनु गलत भएको नेताहरूको भनाइ थियो । बैठकमा धारणा राख्ने केही केन्द्रीय सदस्यहरूले अमेरिकी पासपोर्ट भएको व्यक्तिलाई तत्काल पार्टीबाट निष्कासन गर्न माग गरेका थिए । यसअघि शुक्रबार अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक विषयमा मौखिक ब्रिफिङ, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

नेताहरूले बोल्ने क्रम नसकिएपछि राप्रपाको बैठक लम्बिने भएको छ । शनिबार नै सक्ने भनिएको बैठक सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले आइतबार पनि जारी रहने अध्यक्ष लिङ्देनले बैठक हललाई जानकारी दिएका थिए ।