काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ।
काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।
आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको आइतबारको इजलासले आज विहान १० बजे इजलासमा लामिछानेलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो ।
लामिछानेको बयान सकेर अदालतमा प्रतिवादी पक्षका वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ बहसका लागि पुगेका थिए । तर सरकारी पक्षका जिल्ला न्यायाधिवक्ता चन्द्र सञ्जेलसहितको टोलीले लामिछानेको बयान अध्ययन नगरेकाले समय माग गरेका थिए ।
कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार ६५ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा भएका थिए ।
कास्कीबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हिजो काठमाडौं अदालतमा उपस्थित भएका थिए ।