मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जिल्ला अदालत काठमाडौँमा रवि लामिछानेको आजदेखि थुनछेक बहस

सोमबार, पुष २९ २०८१

काठमाडौं । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजदेखि थुनछेक बहस हुनेछ ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दा लड्न दिने भन्नेबारे सरकारपक्ष र विपक्षी वकिलहरूबीच बहस हुनेछ।

आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको आइतबारको इजलासले आज विहान १० बजे इजलासमा लामिछानेलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो ।

लामिछानेको बयान सकेर अदालतमा प्रतिवादी पक्षका वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ बहसका लागि पुगेका थिए । तर सरकारी पक्षका जिल्ला न्यायाधिवक्ता चन्द्र सञ्जेलसहितको टोलीले लामिछानेको बयान अध्ययन नगरेकाले समय माग गरेका थिए ।

आइतबार बहस नहुने भएपछि लामिछानेका तर्फबाट बहस गर्न पुगेका वरिष्ठ अधिवक्ताहरूले आफूहरूको जिम्मा वा परिवारको जिम्मामा रिहाइ गर्न प्रस्ताव राखे पनि उक्त प्रचलन नभएको भन्दै न्यायाधीश अधिकारीले प्रहरीकाे जिम्मा रहने गरी आदेश गरेका थिए ।

उनलाई प्रहरी परिसर, काठमाडौंको न्यायिक हिरासतमा राखिएको छ ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ ।