काठमाडौं । सरकारले अहिलेकै गठबन्धनको समयमा संविधान संशोधन हुने प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा ०८७ सालमा मात्रै संविधान संशोधन हुने भनेर अभिब्यक्ति दिएको भन्दै अफवाह फैलाउने काम भएपछि एमाले उपमहासचिवसमेत रहेका सञ्चारमन्त्री गुरुङले संबिधान संशोधन हुने बताएका हुन् ।
‘संविधान संशोधन हुन्छ, अहिलेकै गठबन्धन सरकारले गर्छ, गर्ने हो । किनभने हाम्रो ७ बुँदे राजनीतिक सहमतिमा पनि यही कुरा छ,’ सञ्चार मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले भने।
उनले प्रतिनिधि सभामा दुई ठूला दलको बहुमत पुगे पनि राष्ट्रिय सभाबाट अड्किने सम्भावनालाई हेर्दै प्रधानमन्त्रीले केही समय पर्खनुपर्ने बिषयमा जानकारी गराएको पनि उनको भनाई छ । ‘अहिलेको सिनारियो भनेको प्रतिनिधिसभामा दुई वटा दलको मात्रै बहुमत पुग्छ । तर राष्ट्रिय सभामा समस्या भइरहेको छ । त्यहाँबाट पनि पास हुनुपर्ने हुन्छ । राष्ट्रियसभाबाट रोकिने स्थिति बन्यो भने त्यो प्रक्रिया टुंगिदैन भन्ने भन्नुभएको हो,’ सञ्चारमन्त्री गुरुङले भने ।