विराटनगर । मोरङको कर्सियास्थित उमागौरी सहकारी रकम ठगी प्रकरणकी आरोपित अञ्जला कोइराला १० लाख धरौटीमा थुनामुक्त भएकी छन् ।
प्रतिनिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला जिल्ला अदालत मोरङले तोकेको १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् ।
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले थुनछेक बहस सकेर धरौटीमा उनलाई रिहा गर्ने आदेश जारी दिएको थियो ।
सहकारी ठगीमा अञ्जलासहित २६ जनाविरुद्ध गत मंसिर २७ मा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले पुस २ मा उनीसहितका १० जना आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिए पनि अञ्जला तीन सातापछि मात्रै अदालतमा उपस्थित भएकी थिइन् ।
यसअघि सोही प्रकरणमा मुछिएका धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास भने पुस १८ मा ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
अदालतमा दायर मुद्दामा सहकारीका अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनालाई प्रतिवादी बनाइएको छ । यीमध्ये २३ जना अझै फरार छन् । अभियोगपत्रमा प्रतिवादीले बचतकर्ताको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद र हिनामिना भएको रकम असुलीको मागदाबी गरिएको छ ।
८ हजार ८ सय ४२ सेयर सदस्य रहेको उक्त सहकारीमा ३ करोड ८ लाख ९० हजार रुपैयाँ सेयर पुँजी रहेको र ७ सय ७ जना ऋणीका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको जनाइएको छ ।
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह तथा सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुर फरार छन् ।