मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, हजारौँ भवन क्षतिग्रस्त

बुधबार, पुष २४ २०८१

बेइजिङ  । चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ ।

छिमेकी नेपालको राजधानी काठमाडौं र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ ।

चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ ।

फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्री भन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।

भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ ।

भूकम्प मङ्गलबार बिहान करिब ९ः०० बजे नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो ।

राष्ट्रपति सी जिनपिङले खोज, उद्धार र राहत वितरणका लागि पूर्णरुपमा परिचालित हुन र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैलाई सुरक्षित बास र न्याना कपडा सुनिश्चित गर्न आवश्यक छ ।’