काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर आज बिहान गएकाे सात रेक्टर स्केलको भूकम्पबाट कम्तिमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।
चिनियाँ समाचार संस्थाहरूले लेखेअनुसार चीनमा भूकम्पमा परी ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको उल्लेख गरेको छ ।
जसबाट तिब्बतीय क्षेत्रमा अझै क्षति भएको हुन सक्ने आँकलन गरिएको छ। सोसल मिडिया पोस्टहरूमा भवनहरू भत्किएको देखाइएको छ । त्यहाँ धेरै शक्तिशाली पराकम्पहरू आएको समाचारमा उल्लेख छ।
भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा भवनहरू भत्किएका छन् भने मानिसहरू भागेर सडकमा निस्किएका थिए।
चिनियाँ अखबार ग्लोबल टाइम्सले भने ६.८ रेक्टर स्केलको भूकम्प गएकाे उल्लेख गरेकाे । चिनियाँ स्थानीय समय अनुसार बिहान ९ः५ बजे भूकम्प गएको थियो ।
नेपालको राजधानी काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको थियो ।
नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ। नेपालमा भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभामा केही घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।