काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्ने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
“हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्नुहुने छ,” उनले भने, “त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।”
पहिलो दिन आइतबारको बैठकले विगत दश महिनाको अवधिमा पार्टीको पोलिटब्युरो र केन्द्रिय सचिवालयले गरेका निर्णयहरु समेत अनुमोदन गरेको छ । केन्द्रीय कमिटिमा मनोनयन भएका, केन्द्रीय कमिटिबाट विदा भएका र अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरुको अनुमोदन गरिएको उनले जानकरी दिए ।
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका छन् ।