संसदीय दलको नेतामा ५ जनाको आकांक्षा
काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन महत्त्वपूर्ण पदको नेतृत्व कार्यवाहकलाई दिइएको छ ।
रास्वपाले तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको थियो भने भर्खरै पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएपछि डीपी (डोलप्रसाद) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।
अर्याललाई कार्यवाहक सभापति तोकेसँगै रास्वपामा ‘कार्यवाहक’को संख्या तीन पुगेको छ ।
पार्टी गठन भएको साढे २ वर्षमै महत्वपूर्ण मानिएका तीन प्रमुख पद कार्यवाहकको जिम्मेवारीमा पुगेको छ । कार्यवाहकलाई संकटमा परेको रास्वपालाई कसरी अघि बढाउने भन्ने जिम्मेवारी छ ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकमा लामिछानेमाथि मुद्दा दर्ता भएको भन्दै अर्याललाई कार्यवाहक सभापति बनाइयो । रास्वपाको विधान अनुसार अर्का उपसभापति डा. स्वर्णीम वाग्लेले कार्यवाहक जिम्मेवारीको भूमिका पाउनु पर्ने हो तर, रवि लामिछानेको ढिपी र अर्यालको इच्छा बमोजिम विधान लत्याउँदै अर्यालले कार्यवाहक सभापतिको पद पाए । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि दुई महिना रवि लामिछाने हिरासतमा रहँदा रास्वपा सभापति विहीन अवस्थामा थियो ।
अदालतसम्म मुद्दा नपुग्दासम्म रविलाई पदमुक्त गर्ने हिम्मत रास्वपाले गर्न सकेन ।अन्ततः आफ्नो विश्वास पात्रका रुपमा लामिछानेले अर्याललाई पार्टीको जिम्मेवारी सुम्पेका छन् ।
‘पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाको विषयमा संक्षिप्त ब्रिफिङ गरियो, उक्त सम्बन्धमा सम्मानित अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरियो’, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधान २०७९ (संशोधन २०८१) को धारा २५ (४) (क) (९) बमोजिम ६ पुसमा सभापतिले उहाँलाई कार्यवाहक सभापति ताकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहबरमा कार्यवाहक महामन्त्रीमार्फत केन्द्रीय समितिलाई जानकारी गराइएको छ ।’
पक्राउ परेलगत्तै पोखरा पुर्याइएका रवि लामिछाने अहिले पनि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको सिफारिसपछि अनुसन्धानका लागि पक्राउ परेका लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ। सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतको मुद्दा दर्ता भएपछि संसद् सचिवालयले रवि लामिछानेलाई सांसद पदबाट निलम्बनसमेत गरेको छ।
यता अर्कोतिर रविको सांसद पद निलम्बनमा परेपछि संसदीय दलको नेता को हुने ? भन्ने रास्वपामा विवाद सुरु भएको छ । रविको अनुपस्थितिमा पार्टीभित्र समस्या नरहेको देखाउन अनेक प्रयत्न गरिए पनि रास्वपाभित्र गुटगत राजनीतिको प्रभाव बढिसकेको छ ।
रास्वपाको संसदीय दल नेतामा ५ जनाले इच्छा देखाएको खवर बाहिरिएका छन् ।
रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताको आकांक्षा राखेका छन् ।
संसदीय दलको नेता हुन प्रत्यक्ष निर्वाचित अथवा समानुपातिक सांसद भन्नेमा रास्वपामा बहस चल्न थालेको छ । श्रेष्ठ, अर्याल र वाग्ले प्रत्यक्ष निर्वाचित सांसद हुन् भने सुमना र चन्दा समानुपातिक सांसद हुन् । सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीभित्र संसदीय दल नेतामा आउन इच्छुक रहेको पार्टीमा कुरा राखिसकेकी छन् । उपनेता समेत रहेका विराजभक्तले आफू स्वतः संसदीय दलको उत्तराधिकारी रहेको बताउँदै आएका छन् भने कार्यवाहक सभापति अर्याललाई समर्थन जनाएकाले वाग्ले पनि संसदीय दलको नेता आफू हुनेमा विस्वस्त रहेको रास्वपाकै एक नेताले बताए ।