काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिका जिम्मेवारी डोलप्रसाद अर्यालले पाएका छन् ।
सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा मुद्दा चलेपछि उपसभापति रहेका अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको आकस्मिक बैठकमा सभापति रवि लामिछानेले उपसभापति डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकेको हो ।
रास्वपा सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरी हिरासतमा रहँदासमेत कार्यवाहकको जिम्मेवारी नदिएको भनी आलोचना भइरहेको अवस्थामा अर्याललाई कार्यवाहकको भूमिका दिइएको हो ।
रास्वपाको विधानअनुसार उमेरले जेष्ठ उपसभापति कार्यवाहकको भूमिकामा रहन्छन् । रास्वपाका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको सहमतिमै डीपीलाई कार्यवहाकको जिम्मेवारी दिइएको भनिएपनि यसकाे अन्तर्य अर्कै रहेकाे चर्चा छ । रवि लामिछानेलगायत रास्वपाका ठूलो खेमा स्वर्णीमलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन नहुने पक्षमा रहेकाले विधान मिचेरै भएपनि अर्याललाई अघि सारिएको स्रोतको दाबी छ । रविको सिफारिस भन्दै अर्याललाई सभापतिको जिम्मेवारी तोकिएको छ ।
रास्वपाका विधानमा सभापतिको अनुपस्थितिमा दुई उपसभापति भएको हकमा उमेरले जेठो उपसभापतिलाई कार्यवहाकको जिम्मेवारी दिइने व्यवस्था छ । उमेरले अर्याल भन्दा वाग्ले जेठा हुन् ।
रास्वपाको विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारमा दुई उपसभापतिमध्ये उमेरमा जेष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमा सभापतिको कार्य गर्ने उल्लेख छ । यसैगरी उपसभापति वा उपप्रमुख पदमा एकभन्दा बढी सदस्य जिम्मेवारीमा रहे उमेरले ज्येष्ठ उपसभापति वा उपप्रमुखले कार्यवाहक सभापति वा प्रमुखको जिम्मेवारीमा कार्यसम्पादन गर्ने विधानमा उल्लेख छ ।
तर, उमेरले ज्येष्ठ रहेका वाग्लेलाई रवि र पार्टीले कार्यवाहक सभापति पद दिन अस्वीकार गरेको हो । स्वर्णीम नेपाली कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए । वाग्ले वि.स. २०३१ जेठ १७ का हुन् भने अर्याल २०३१ भदौ ६ का हुन् । विधान मिचेर डीपी अर्याललाई कार्यवहाकको जिम्मेवारी दिइएपछि यसको आलोचना भइरहेको छ ।
लामिछाने हिरासतमा रहँदा रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई पनि तोकेको थिएन । अहिले भने सभापतिको सिफारिस भन्दै अर्याललाई पार्टीको कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।