काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका निम्ति केही दिनभित्र संयन्त्र बनाइने बताएका छन् ।
आइतबार कांग्रेस काठमाडौं महानगरपालिका–३० को दोस्रो वडा सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दल कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनका निम्ति केही दिनभित्रै संयन्त्र बनाएर काम थाल्ने उल्लेख गरे । संयन्त्र बनाउँदा सुझबुझपूर्ण र सम्हालिएर संविधान संशोधन गरिने उनले बताए । माओवादी, मधेसवादी राजनीतिक दलहरूसँगको समझदारीबाट संविधान संशोधन गरिने उनले बताए ।
उनले भने, “एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनैपर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरू छन्, जुन कुरामा हामी संविधान संशोधन गर्ने कुरामा प्रवेश गर्दछौँ ।”
महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुनेमा जोड दिए । यो अवधिमा आफूले गरेका कामको फेहरिस्त बोकेर जनतासामु जान सक्ने हैसियत बनाउनुपर्ने उनले बताए ।
महामन्त्री थापाले कांग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताए । सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।