बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने

संविधान संशोधनका लागि सुझाव सङ्कलनसहित प्रतिवेदन पेस गर्न कार्यदल

बुधबार, पुष ३ २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने व्यवस्था गरिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधनका लागि सुझाव सङ्कलनसहित प्रतिवेदन पेस गर्न नेता प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । कार्यदल सदस्यमा राजन राई, बलदेव चौधरी, गरिमा साह, गणेश विक, रामचन्द्र यादव र घनप्रसाद गौतम छन्।

यस्तै, बैठकले पार्टीलाई जनतासँग जोड्नका लागि जनसङ्घर्षका अभियान सञ्चालन गर्ने र पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । बैठकले पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको र आगामी निर्वाचनमा देशभर एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको सचिव पाण्डेले बताए । कार्ययोजनामा आगामी दिनमा सैद्धान्तिक, वैचारिक र साङ्गठनिक कामलाई तीव्रता दिने उल्लेख छ ।

बैठकले राष्ट्रिय ‘एजेन्डा’मा सबै दलसँग सहकार्य गर्ने र तत्काल कुनै पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ ।

नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनका लागि तल्लो तहदेखि नै सुझाव सङ्कलन गरी आएका सुझावलाई अध्ययन गरी टुङ्ग्याउने निर्णय गरिएको जनाइएको छ ।