काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चारदिने मित्रराष्ट्र चीन भ्रमणमा जाँदैछन् । आफू चीन जानु अघि सत्तारुढ दुई दल कांग्रेस र एमालेबीच बीआरआईमा सहमति जुटेको छ । सत्तारुढ दुई दल बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग तिव्रता आउने अपेक्षा लिइएको छ ।
‘अनुदान वित्तपोषण (ग्रान्ट फाइनानिसङ)का आधारमा बीआरआई अघि बढाउने’ उल्लेख गर्दै कांग्रेस–एमालेले सहमतिको मस्यौदा तयार पारेका छन् । उक्त सहमतिलाई शनिबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बसेर अन्तिम रुप दिइएको छ ।
नेपाली कांग्रेसले विगतदेखि नै बीआरआई अन्तर्गतका सम्झौता ऋणमा नभएर अनुदानमा आधारित हुनुपर्ने बताउँदै आएको थियो । नेकपा एमाले बीआरआईको सबै पक्षमा खुला थियो । २०१७ मे १२ मा बीआरआईसम्बन्धी समझदारी पत्र (एमओयू)मा परियोजनामा नेपालले हस्ताक्षर गरेको थियो ।
सत्ता साझेदारीमा सँगै रहेकै कारण कांग्रेस एमालेले बीआरआईबारे साझा धारणा बनाउन जरुरी पनि थियो । कार्यदलमा रहेका एक सदस्यका अनुसार लामो छलफल र रस्साकस्सीबिच बीआरआई अनुदानमा मोडलमा अघि बढाउने गरी सहमति जुटेको हो । दुई दलीय संयन्त्रका नेताहरूले शनिबार साँझ बिआरआई बारेको आन्तरिक सहमति प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई साझा गरेका थिए । बीआरआईमा जुटेको सहमतिले गठबन्धनको आयु बढेको अनुमान गरिएको छ।
२०८४ को निर्वाचनसम्म कांग्रेस एमाले गठबन्धन निरन्तर राख्न शीर्ष नेतृत्वबीच सहमति बनिसकेको छ । केही समयअघि सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्नेमा सत्ता गठबन्धनमा विवाद बढेको थियो । रविलाई प्रहरीले पक्राउ गरेपछि टरेको समस्या चीन भ्रमणको सन्दर्भमा पुनः बल्झेको थियो ।
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनबाट सुरु गर्ने सन्दर्भले नै सत्ता राजनीति तरंगित भइसकेको थियो । कतिपयले प्रधानमन्त्रीको चीन भ्रमणअघि वा पछि राजनीतिक समीकरण फेरबदलको चर्चासमेत गरेका थिए । कांग्रेस र एमालेबीच २०८३ को असारसम्म ओली प्रधानमन्त्री रहने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति छ ।